काठमाडौँ । ‘पहिले हामीलाई थाहा समेत थिएन, पात टिपेर पनि पैसा कमाउन सकिन्छ भन्ने,’ दाङकी पुष्पा चौधरीले भनिन्, ‘आज भने हामी महिलाहरूले समूहमा मिलेर सालको पातबाट दुना टपरी बनाएर घरकोसँगै आफ्ना साना साना आवश्यक्ता पूरा हुन थालेका छन् ।’
दाङको घोराही उपमहानगरपालिका १२ नम्बर वडा डाडागाउँकी पुष्पा चौधरी लगायत डाडागाउँका सातजना उद्यमी महिलाहरूले दुनाटपरी निर्माण सम्बन्धि तालिम लिएर अहिले दुना टपरी निर्माण गर्र्दै आइरहेका छन् । जसले उनीहरु दुना टपरी उत्पादनमार्फत आफ्नो जीवनलाई सशक्त र आत्मनिर्भर बनाउन प्रयासरत छन् ।
घोराही उपमहानगरपालिका १२ नम्बर वडा डाडागाउँकी ३० वर्षीया मान कुमारी चौधरी पहिले घरायसि काममा बढिजसो व्यस्त हुन्थिन् । तर, अहिले उनको दिनचर्या बद्लिएको छ । उनी भन्छिन्, ‘पहिला, घरायसि काममा मात्र व्यस्त भइन्थ्यो । अहिले घरायसि कामसँगै समूहमा बसेर दुना टपरी बनाउँछु, बजारमा बेच्दछु र मेरो परिवारका लागि आधारभूत आवश्यकताहरू जुटाउँछु ।’
सोही ठाउँकै २६ वर्षीया शुशिला चौधरी पनि सामान्यतया घरायसि काममै व्यस्त हुन्थिन् तर, अहिले दुना टपरी निर्माण सम्बन्धि तालिम पाएपछि दुना टपरी बनाउँदै आफ्ना आकांक्षा पुर्ती गर्दै आइरहेको उनी बताउँछिन् ।
पहिले मेसिनमा राखेर दुना टपरी बन्छहोला भन्ने थाहसमेत थिएन,’उनी भन्छिन्, ‘जब तालिम लियौँ त्यसपछि आफैले मेसिनबाट दुनाटपरी बनाउँदा छक्क प¥यौँ ।’
सोसेक नेपालले महिलाहरूलाई मेसिनद्वारा दुना–टपरी बनाउने तालिम प्रदान गरेपछि उनीहरूको उद्यमी हुने इच्छा पुरा भएको हो । संस्थाले मेसिन राख्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्दै, गत भदौदेखि समूहले उत्पादन थालनी गरेको उद्यमशिल दुना टपरी महिला समूहका अध्यक्ष पुष्पा चौधरी बताउँछिन् ।
डाडा गाउँका पुष्पा र मानकुमारी चौधरी जस्तै उद्यमशिल दुना टपरी महिला समूहका सदस्य सुशीला चौधरीले पनि स्थानीय स्रोतहरूको सदुपयोग गर्दै आफ्नो आम्दानीको स्रोत बनाउन सफल छिन । उनले घर नजिकै रहेको खजुरी सामुदायिक वनबाट संकलित पात प्रयोग गर्दै दुना–टपरी बनाएर भदौयता मात्र दुई हजार दुना–टपरी बिक्री गरेर १० देखि १५ हजारसम्म आम्दानी गरेको बताउँछिन् । ‘मेहनत गरे अनुसार राम्रै आम्दानी गर्न सकिँदोरहेछ,’ उनी भन्छिन, ‘पहिले आफुसँग सीप नभएकै कारण प्राय दिनहरू घरमै बसेरैै बित्थ्यो । कतै काम खोजौँ भने आफुसँग सीप थिएन जस्ले गर्दा काममा कसैले राख्दैन थिए । तर, तालिम लिएपछि भने दुना–टपरी बनाएर आम्दानी गर्न थालेकी छु, जसले गर्दा घरव्यवहार चलाउन सहज भएको छ ।’
पुष्पा र शुशीलासँगै समूहका अन्य सदस्यहरूले पनि समूहमा बसेर दुना टपरी उत्पादन गर्दै आर्थिक उपार्जन गर्दै आइरहेको सोसेक नेपालद्वारा संचालित ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना संयोजक दोर्ण जिसी बताउँछन् ।
‘आर्थिक रूपमा पिछडिएका, केही गरौँ भन्ने सोच भएका महिलाहरूलाई छनोट गरी सीपमूलक तालिम दिएका थियौँ, अहिले उहाँहरुले राम्रै मेहनत गर्दै आउनुभएको छ,’ जिसीले भने ।
उनका अनुसार ७ जना महिलालाई पुनः ३ दिने दुना–टपरी बनाउने तालिम प्राप्त गरेपछि, संस्थाले उनीहरूको वृहत व्यवसायिक योजनालाई प्रोत्साहन गर्दै २ लाख ५५ हजार रुपैयाँको लागतमा हाईड्रोलिक मेशिन उपलब्ध गराएको थियो ।
व्यक्तिगत उत्पादन र सामुहिक वजारीकरण अवधारणा अनुसार उद्यमी महिलाहरुले आफू अनुकुल अनुसार दुना टपरी उत्पादन गर्दै फुर्सदको समयलाई सदुपयोग गर्दै दुना टपरी उत्पादन गर्दै आएको समुहका अध्यक्ष पुष्पा चौधरी बताउँछिन् । समूहले प्रती चाट दुना १.५० र मम दुना रु.५ को २ वटा र टपरी प्रति गोटा ८ रुपैँयामा बेच्ने गरेको समूहले जनाएको छ ।
त्यस्तै समूहले तीन वटा ड्राईवाट टपरी, चाट दुना, मःम तथा चाउमिन दुना उत्पादन गरि स्थानिय वजारमा विक्री गर्दै आएको छ । उक्त समूहलाई नेपालगन्ज र बुटवलका क्षेत्रीय बजारहरुमा समेत दुना टपरीको बजारिकरण प्रवद्र्धनका लागि संस्थाले अवलोकन समेत गराएको थियो । दाङको गढवा गाउँपालिकामा महिला समुहले संञ्चालन गरेको दुना टपरी उद्योगमा समेत अनुभव आदान प्रदान कार्यक्रम गरिएको संयोजक जिसी बताउँछन् ।
ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना संयोजक दोर्ण जिसीका अनुसार, निर्माण गरिएका दुना टपरी स्थानीय बजारमा खपत भइरहेको छ । तर, स्थानीय बजारको मागअनुसार समूहले हालसम्म पु¥याउन सकेको छैन ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रयासमा स्थानीय तहको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाइन ।
यस्तै उद्योगहरुलाई प्रोत्साहन गर्न उपमहानगरपालिका उपप्रमुख डिसीले ४० माइक्रोन भन्दा कमका प्लाष्टिक निषेध गर्ने नीति ल्याएको उनले जानकारी दिइन् ।
‘हामीले केही समयअघि मात्र ४० माइक्रोनभन्दा कम मोटाइ भएका प्लास्टिक सामग्रीलाई निषेध गर्ने नीति लागू गरेका छौँ,’ उनले भनिन, ‘यस्तो अवस्थामा यस्ता वातावरणमैत्री उद्योगलाई थप प्रोत्साहन र टेवा पुग्नेछ ।’
पहिले अधिकांश समय घरायसि काममा र धेरैजसो फुर्सदिला बनेका डाडागाउँका महिलाहरुका लागि दुनाटपरी तालिमले आत्मनिर्भर हुन सिकाएको छ । तालिमपश्चात् भवन र समूहलाई मेसिन समेत उपलब्ध गराएपछि डाडागाउँका महिलाहरुले धमाधम दुनाटपरी निर्माण गर्दै आएको जि.सी बताउँछन् ।
ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना
हाल घोराही उपमहानगरपालिका १२ मा आइमसुइडि डेवलपमेन्ट पार्टनर र मुक्तकमलरी विकास मञ्च दाङको सहकार्यमा, सोसेक नेपालको प्राविधिक साझेदारीमा ग्रीन इकोनमिक एक्सलेटर परियोजना मार्फत संचालन गरिएको पाँच दिने तालिमपश्चात् उनीहरुमा यस्तो परिर्वतन आएको हो ।
आ.एम, स्विडिस डेभलपमेन्ट पार्टनर को साझेदारमा मुक्त कमलरी, कुसुण्डा समुदाय, दलित जनजाति उत्थानशिल जीविकोपार्जनको माध्यमबाट गरिवी न्यूनिकरण तथा वातावरण संरक्षणमा टेवा पुराउने उद्धेश्यका साथ सोसेक नेपालले दाङ्ग, सल्यान र कपिलवस्तु जिल्लामा ग्रीन इकोनमिक एक्सलेरेटर परियोजना संचालन गर्दै आएको छ । यो परियोजना विगत १ वर्ष देखि संञ्चालन हुँदै आएको संयोजक जिसीले जानकारी दिए ।
संयोजक जिसीका अनुसार जिल्ला साझेदार संस्था मुक्त कमलरी विकास मञ्चको सामाजिक परिचालनमा दाङको घोराही उपमहानगरपालिका वडा न. २ र १२ वडाका लक्षित २६ जना संम्भावित उद्यमी छनोट गरि ५ दिने उद्यमशिलता तालिम प्रदान गरेको थियो । गत श्रावण महिनामा संञ्चालन गररएकोमा २६ जना सहभागी मध्य ७ जना महिलाहरुले दुना टपरी उद्यम संञ्चालन गरेर दुना टपरी उत्पादन गर्दै आएका छन् ।
सपना देख्ने महिलाहरू
सपना देख्न र त्यसलाई पुरा गर्नका लागि दुनाटपरी निर्माण सम्बन्धि ५ दिने उद्यमशिलता तालिम लिए । उनीहरूका लागि त्यही तालिम सारथी बन्यो, सोसेक नेपाल, जसको सहयोगबाट सामूहिक श्रम र साझेदारीले दुना टपरी उद्योगको सृजनामा ढोका खोलेको पुष्पा चौधरी बताउँछिन् ।
पुष्पा भन्छिन्, ‘मैले कहिल्यै सोचेको थिइन कि मसँग यस्तो अवसर आउँछ भनेर । आज मैले घरायसी काम सँगसँगै दुना टपरी मेसिन चलाउन सक्छु ।’
पुष्पाका श्रीमान, जो पहिले बैदेशिक रोजगारमा थिए, पछि नेपाल फर्किएर पुष्पासँगै पात टिप्न र दुना टपरी उत्पादनमा मद्दत गर्दै आएका छन् ।
समाजमा महिलाको भूमिकाको नयाँ परिभाषा पेश गर्दै यी महिलाहरू अब स्वतंत्रता र आत्मसम्मानको साथ आधुनिक व्यापार तर्फ अघि बढ्दै आएका छन् । ‘पहिला हामी कुनै काम गर्न सक्दैनौं भन्ने सोच्थ्यौं, अब हामी सशक्त र स्वतंत्र छौं,’ समूहकी सदस्य मान कुमारी चौधरीले भनिन ।